नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
छानबिन समितिका राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । पार्टी केन्द्रमा स्थानीय तहको निर्वाचनमा विशेषगरी मधेश प्रदेशमा अन्तर्घात भएको रिपोर्टिङ भएको थियो ।
त्यस्तै, अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका लागि पूर्वविद्यार्थी नेताहरू सम्मिलित तीन सदस्यीय सुझाव समिति गठन भएको छ । सुझाव समितिमा रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । समितिले सुझाव बुझाएपछि स्थायी समितिले त्यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।
यस्तै, माओवादी केन्द्रले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता महराले जानकारी दिए ।