नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
नेपालले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । बैठकले पूर्व प्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भर्त्सना पनि गरेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनको निधनमा आज राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ । नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।