माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले चार वटा निर्णय गरेको हो ।

बैठकले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानबिन समिति गठन गरेको छ । बैठकले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।



छानबिन समितिका राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । पार्टी केन्द्रमा स्थानीय तहको निर्वाचनमा विशेषगरी मधेश प्रदेशमा अन्तर्घात भएको रिपोर्टिङ भएको थियो ।

त्यस्तै बैठकले अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका लागि पूर्वविद्यार्थी नेताहरू सम्मिलित तीन सदस्यीय सुझाव समिति गठन भएको छ । सुझाव समितिमा रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् । समितिले सुझाव बुझाएपछि स्थायी समितिले त्यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।

यस्तै बैठकले प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरू सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् ।

त्यसैगरी बैठकले बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जस अन्तर्गत साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार