बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी, यस्तो छ मतपरिणाम

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आज (आइतबार) सम्पन्न मतगणना अनुसार मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।

बानियाँले ४ हजार ७७७ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएका थिए । बानियाँले खातीलाई एक हजार तीन मतले पछि पारेका हुन् ।



यसैगरी उपमेयरमा मायाकुमारीले ४ हजार ७२७ मत ल्याई विजयी हुँदा कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत पाएकी छन् । मायाकुमारीले रितालाई ९७२ मतले पछि पारेकी हुन् । बुढीगंगा नगरपालिकामा १० वटा वडा रहेका छन् । जसमध्ये वडा नं १, २, ३, ४, ५, ६, ९ र १० को सबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए भने वडा नं ७ र ८ को सबै पदमा काँग्रेस विजयी भएका थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । यसअघिको मतदानका क्रममा दशमध्ये छ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो ।

 

सम्बन्धित समाचार