फुटको सङ्घारमा जसपा, भट्टराई र यादवले बोलाए छुट्टाछुट्टै बैठक

मन्त्री हेरफरदेखि नै पार्टीभित्रै तीव्र विवाद र असन्तुष्टि देखिएको सत्तारूढ जनता समाजवादी पार्टी फुटको सङ्घारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच अन्तरकलह चर्किँदै गएपछि यस्तो अवस्था आएको हो । यसअघि गत असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशनसमेत स्थगित गरिएपछि पनि पार्टीभित्र कलह बढेको थियो । त्यसबेला पार्टीले आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको जनाएको थियो । विधान अधिवेशन स्थगित गरिएपछि पार्टीभित्रको विवाद थप चुलिएको थियो ।

तर, यो विवाद साम्य नहुँदै मन्त्री हेरफेरको विषयले थप चर्चा पायो । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई तत्काल मन्त्री हेरफेर नगर्ने पक्षमा थिए भने अध्यक्ष यादव भने सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने दाउमा थिए । अन्ततः यादव पक्षले एकलौटी रूपमा बैठक बसेर मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यादव पक्षको कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेरको निर्णय गर्ने अधिकार यादवलाई दिएको थियो । यही अधिकारलाई प्रयोग गर्दै यादवले भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र राय यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहलाई मन्त्री बनाएका थिए ।



यादवले आफूखुसी मन्त्री हेरफेर गरेपछि भट्टराईले त्यसलाई रोक्ने प्रयास गरेका थिए । भट्टराईले त्यसमा आफ्नो सहमति नभएको भन्दै मन्त्री नियुक्त नगर्न प्रधानमन्त्री देउवालाई आग्रहसमेत गरेका थिए । तर, प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गर्दै मन्त्री हेरफेर गरेपछि पार्टीमा थप विवाद बढेको हो ।

छुट्टाछुटै बैठक बोलाए
फुटको संघारमा रहेको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।

भट्टराई पक्षको बैठक कहिले ?
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षले भने असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने बैठकमा पार्टीगत विषयमा छलफल हुने भट्टराई पक्षका एक नेताले बताएका छन् । बैठकमा आन्तरिक विषय, स्थानीय चुनावको समीक्षा, संगठनबारे छलफल र आगामी कार्य योजनाबारे छलफल हुने बताइएको छ । छलफलका एजेण्डा पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय परिषद सदस्यहरूलाई पठाइएको ती नेताले बताए ।

यादव पक्षको बैठक कहिले ?
भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएपछि केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षले पनि असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् । यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ । त्यस्तै यादव पक्षका एक नेताले केन्द्रीय सदस्यहरूलाई वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन सूचना पठाइसकिएको जानकारी दिए ।

यादव र भट्टराईबीच सहमतिमै अलग अलग बाटो लाग्ने निर्णय
उपेन्द्र यादव र बाबुराम भट्टराईबीच यसअघि नै आपसी सहमतिमा अलग अलग बाटो लाग्ने निर्णय भैसकेको छ । पार्टीभित्र अध्यक्ष यादवले मन्त्री हेरफेरमा कुनै सल्लाह नगरी एकलौटी ढंगले निर्णय गरेपछि पार्टीभित्र यस विषयमा सहमति नभएको जसपाका नेताहरू बताउँछन् । मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट बनेका थिए । यही विषयले यादव र भट्टराईलाई एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग अलग बाटो लाग्ने भन्ने तय भएको थियो । मन्त्री फेरबदलकै विषयलाई लिएर चर्काे विवाद भएपछि भट्टराई र यादवबीच वार्ता भएको थियो, जसमा दुवै नेताले अलग हुने सहमति जनाएका थिए ।

यादव र भट्टराई दुबैले अलग हुने निर्णय गरे पनि जसपका दोस्रो तहका नेताहरू भने पार्टीलाई फुटको सङ्घारबाट जोगाउन लागिपरेका छन् । तर दुबै नेताले छुट्टाछुट्टै बैठक राखेपछि पार्टी फुट्ने लगभग निश्चित भएको छ । दुई नेतालाई नै आ–आफ्नै बाटो लाग्नेसम्मको अवस्थामा पुर्याएको छ । यद्यपि जसपाको विवाद यो नयाँ भने होइन । यसअघि पनि यादव र भट्टराईबीच पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा मतभेद रहँदै आएको थियो ।

सम्बन्धित समाचार