गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

गृहमन्त्री बालकृष्ण खाँणले र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा गृहमन्त्रीले प्रचण्डसँग ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे छलफल गरेका छन् । सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।



यसअघि सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश गरेकोमा सरकारले उक्त विधेयक असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

पेश भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरिरहेका छन् । गृहमन्त्री खाँणले आइतबार साँझ मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए ।

सम्बन्धित समाचार