नेपाल नामिबियासँग पराजित

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो ।

स्कटल्याण्डको न्यु काम्बसडनमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७ ओभर ३ बलमा अलआउट हुँदै २२० रन बनाएको थियो ।नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय पारी खेले भने डिभान ला ककले ४१ रन बनाए । त्यस्तै कप्तान गेर्हार्ड एरास्मुस २२ रन बनाई आउट भे भने क्रेग विलियम्सले २१ रन जोड्दा लो हान्ड्री र डेभिड वाइजले समान १८-१८ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिँदा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



२२१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १८० रनमा समेटिएको थियो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै देव खनाल ३४ रन बनाई आउट भए भने कुशल भुर्तेलले २७ रन जोड्दा करण केसीले १९ रन बनाए । नामिबियाका लागि बेर्नार्ड स्कोल्च , जान फ्राईलिंक र डेभिड वाइजले समान २-२ विकेट लिए ।

जितसँगै नामिबिया १६ खेलमा १६ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने १७ खेलमा १५ अंक जोडेको नेपाल छैटौं स्थानमा झरेको छ । अब नेपालले दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ ।

 

 

 

 

 

सम्बन्धित समाचार