नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ । आज (मंगलबार) ओली निवास बलकोटमा सीपीसीका विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
ओलीलाई भेट्न लिउ बालकोट पुगेका थिए । भेटवार्तामा ओलीसहित एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली , ईश्वर पोखरेल लगायतको सहभागी रहेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
चार दिने भ्रमणको लागि गत आइतबार काठमाडौं आएका लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डा नारायण खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । लिउ नेतृत्वको चिनियाँ टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी भेट्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ ।