प्रधानमन्त्रीसँग भरतपुरकी मेयर दाहालसहित चितवनको टोलीद्वारा भेट, के विषयमा भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहित चितवनको टोलीद्वारा भेटवार्ता गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण रोकिएको विषय, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको बताइन् ।



नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’, मुख्य सचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा राजनीतिक दलका प्रतिनिधि, राष्ट्रियसभाका सदस्य, भरतपुर र माडीका पूर्व र वर्तमान जनप्रतिनिधिलगायत सरोकारवालाको सहभागी थियो । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । यसअघि चितवनको टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गरी चितवनको अवस्थाको बारेमा जानकारी गराएको थियो । यससँगै मेयर दाहालसहितको टोली आज प्रधानमन्त्रीलाई भेट्न पुगेको हो ।

प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री देउवाले विमानस्थल विस्तार, क्रिकेट रङ्गशाला, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य र जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति तत्काल अघि बढाउन निर्देशन दिएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीले निकै सकारात्मक भएर तत्काल कार्यान्वयनका लागि निर्देशन दिनुभयो ।’ महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएकाले जिल्लावासीको मागको सुनुवाई हुने विश्वास व्यक्त गरिन् ।

सम्बन्धित समाचार