नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।
प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिए । त्यस्तै सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई उपसभामुख निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न निर्देशन दिएका छन् ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद २०७६ माघदेखि रिक्त रहेको छ ।