नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरिएको छ । आज (बुधबार) को प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रले गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् ।
उनले भनिन् ,‘देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ । राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ’, शर्माले भनिन्, ‘ती एम अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी हुन् भन्ने छ ।’
‘एकाातिर अर्थतन्त्र बिग्रदो अवस्थामा छ भन्ने आरोप र प्रत्यारोपमा छौं,’ उनले भनिन्, ‘प्रचलित कानुन विपरित कुनैपनि दलको विभागीय सदस्यमा रहँदा यो देशको नियम पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ ?’शर्माको प्रश्न छ ।
उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरिन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी खोटाङलाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । त्यस्तै, सांसद अञ्जना विशंखे र अमृता थापाले पनि गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरेकी छिन् ।