परिचय खुल्न नसकेको एक अज्ञात नाम ‘एम.अधिकारी’

अहिले राजनीतिमा परिचय खुल्न नसकेको एक अज्ञात नाम ‘एम. अधिकारी’ ले निकै चर्चा बटुलेको छ । एम. अधिकारीको विषयमा सदनदेखि सडकसम्म चर्चा परिचर्चा बढिरहेको छ । सदनमा गठबन्धन दलका आवद्ध सांसदहरु एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भन्दै आएका छन् । सदनमा गठबन्धनका नेताहरुले अधिकारीमाथि छानविन गर्न माग गरिएको छ।

नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य ‘एम. अधिकारी, खोटाङ’ भनेर नाम आएपछि यो विषयले चर्चा पाएको हो । गठबन्धनका नेताहरुले एम अधिकारी गभर्नर नै भएको पुष्टि गरेको छ भने यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बिहीबार एक पत्र सार्वजनिक गर्दै एम. अधिकारी गभर्नर नभएको स्पष्टिकरण दिएको छ ।



महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरिएको छ । गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको हो । पार्टीमा आवद्ध व्यक्ति गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् ।

उनले भनिन् ,‘देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ । राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम. अधिकारी खोटाङ भनेर नाम आएको छ’, शर्माले भनिन्, ‘ती एम अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी हुन् भन्ने छ ।’

‘एकाातिर अर्थतन्त्र बिग्रदो अवस्थामा छ भन्ने आरोप र प्रत्यारोपमा छौं,’ उनले भनिन्, ‘प्रचलित कानुन विपरित कुनैपनि दलको विभागीय सदस्यमा रहँदा यो देशको नियम पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ ?’ शर्माको प्रश्न छ । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम. अधिकारी खोटाङलाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । त्यस्तै, माओवादी केन्द्रका सांसद अञ्जना विशंखे र अमृता थापाले पनि गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरेकी छिन् । त्यस्तै कांग्रेसका नेताहरुले पनि ‘एम. अधिकारी’ राष्ट्र बैंकका गभर्नर नै रहेको बताउँदै उनलाई कारबाही गर्नु पर्ने माग गरिरहेका छन् ।

एम अधिकारीको विषयमा यसो भन्यो एमालेले
नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा ‘एम. अधिकारी, खोटाङ’ भनी उल्लेखित व्यक्ति राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ । बिहीबार एमालेले एक पत्र जारी गर्दै एम‍‍. अधिकारी राष्ट्र बैंकको गभर्नर नरहेको स्पष्ट पारेको हो ।

‘एम. अधिकारी’को विषयमा विभिन्न प्रश्न उठेपछि एमालेले अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ । त्यस्तै एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् ।गभर्नर अधिकारीले पत्र पठाएपछि एमाले केन्द्रीय कार्यालयका सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् ।

गभर्नरले लेखेको पत्र यस्तो छ
राष्ट बैंकका गभर्नरले आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै आफू कुनै पनि पार्टीको सदस्य नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको बताएका छन् । उनले असार २९ गते एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी उक्त कुरा बताएका हुन् ।

‘त्यस पार्टीको अर्थ सम्बन्धी विभाग गठन भएको र सो विभागमा ‘एम अधिकारी खोटाङ’ सदस्य रहेको भनी सोसियल मिडिया तथा अन्य सञ्चारमाध्यमबाट जानकारी भयो । उक्त नामसँग म नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सृजना भएको देखिन्छ । म सम्पूर्ण राजनैतिक दल र नेतृत्वको सम्मान गर्दछु । साथै, त्यस दललगायत कुनै पनि राजनैतिक दलको सदस्य नरहेको व्यहोरा समेत अनुरोध गर्दछु । यसरी राजनैतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुने पार्टी विशेषको कुनै समितिमा रहने, बस्ने भन्ने बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु,’ गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रमा भनिएको छ ।

यस्तो छ एमालेले गभर्नर अधिकारीलाई लेखेको पत्रको जवाफ
नेका एमालेका केन्द्रीय कार्यालय सचिव डा .भिष्म अधिकारीले ‘एम अधिकारी’ नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् । उनले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गर्दै एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेका छन् ।

यस्तो छ पत्र
‘उपरोक्त विषयमा तपाईंको मिति २०७९/३/२९ को पत्र प्राप्त भै व्यहोरा अवगत भयो । तत् सम्बन्धमा यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चारमाध्यमसमेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विगभामा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरो स्पष्ट गर्दछु,’एमाले केन्द्रीय कार्यालयका सचिव डा .भीष्म अधिकारीले लेखेको पत्रमा उल्लेख छ । गभर्नर अधिकारीले पत्र पठाएपछि एमाले केन्द्रीय कार्यालयका सचिवले गभर्नर अधिकारीलाई स्पष्ट पारिएकोबारे पत्र पठाएका हुन् ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेको बेला नेकपा एमलेले भने ‘एम. अधिकारी’को परिचय अझै खुलाएको छैन । एम अधिकारीको परिचय नखुल्दै सत्ताको नेतृत्व गरिरहेका दलहरुले ‘एम. अधिकारी’ गभर्नर नै हुन् भन्नु र उनको राजीनामा माग्नु नेपाली राजनीतिमा अलि नसुहाउँदो माग जस्तो देखिन्छ ।

 

सम्बन्धित समाचार