प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । आज (शुक्रबार) भएको निर्वाचनमा सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी भुसाल निर्वाचित भएकी हुन् ।

नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाएकी थिइन् । कुल २४२ सदस्यको उपस्थिति रहेको बैठकमा १ मत तटस्थ १ मत परेको थियो ।



प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको थियो । उपसमुख पदको लागि निर्वाचनमा गठबन्धन र प्रतिपक्ष दलबीच प्रतिस्पर्धा भएको थियो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए ।

भुसालको प्रस्तावकमा नेपाल माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृतकी लक्ष्मीकुमारी चौधरीले रहेकी छन् भने भट्टराईको प्रस्तावकमा एमालेका सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका थिए । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद २०७६ माघदेखि रिक्त रहेको थियो ।

सम्बन्धित समाचार