नेपाल नामिबियासँग पराजित

स्कटल्याण्डमा जारी आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । सिरिजमा नामिबियाविरुद्ध नेपालको यो लगातार दोस्रो हार हो ।

स्कटल्याण्डको न्यु काम्बसडन आयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा अलआउट हुँदै १९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेहार्ड एरस्मसले ५३ रनको अर्धशतकीय पारी खेले डेभिड विइजले ३४ रन बनाए । त्यस्तै जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे भने जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९-१९ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिँदा बसिर अहमेदको भागमा १ विकेट रह्यो ।



२०० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३७ ओभर ५ बलमा अलआउट हुँदै १३६ रनमा समेटिएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए भने आसिफ शेखले ३४ रन जोडे । यस्तै आदील आलम २० रन बनाई आउट भए भने रोहित पौडेलले १७ रन जोड्दा पवन सर्राफ १० रनमा अविजित रहे । नामिबियाका लागि बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए भने जान फ्राईलिंकको भागमा ३ विकेट रह्यो ।

नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको हो । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । जितसँगै नामिबिया १८ खेलमा १८ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने १९ खेलमा १७ अंक जोडेको नेपाल छैटौं स्थानमा झरेको छ । अब नेपालले अन्तिम खेल आज स्कटल्याण्डसँग खेल्नेछ ।

 

सम्बन्धित समाचार