नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।
गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आज (सोमबार) दाहाल निवास खुमलटारमा गृहमन्त्री र कानुनमन्त्रीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए । भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए ।
‘सरकारले संघीय संसदमा पेस गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका अन्य विधेयकबारे कुराकानी भयो,’ गृहमन्त्री खाँणले भने, ‘ती विधेयकहरूबारे संसदमा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको थियो । यो विषयमा पनि सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको छ ।
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक असार २५ गते शुक्रबार संघीय संसद् सचिवालयमा दर्ता गराएको थियो । त्यसैदिन सरकारले २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, जसलाई संसद्को राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । त्यो विधेयक सरकारले फिर्ता लिएपछि नयाँ विधेयक संसद्मा पेस भएर संशोधनको प्रक्रियाका लागि अनुमति पाइसकेको छ । नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँण राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै आएका छन् ।