नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराई गठबन्धनमै रहेको बताएका छन् । आज (मंगलबार) भट्टराईसँगको भेटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले बाबुराम गठबन्धनमै रहेको बताएका हुन् ।
आज माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड र भट्टराईको भेट भएको थियो । अध्यक्ष प्रचण्डले भेटवार्तामा समसामयिक विषय र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए । उनले भट्टराई जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिएपनि सत्ता गठबन्धननै रहेको बताएका छन् ।
प्रचण्डले भने, ‘बाबुरामजीले आफू जसपाबाट अलग भए पनि आफू सत्तारुढ गठबन्धनमै रहेको बताउनु भएको छ । उहाँ पनि गठबन्धनमै हुनुहुन्छ नि ।’ प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा करिब एक घण्टा छलफल भएको थियो । उनले आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताएका छन् । त्यस्तै आजै माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमै दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतमसँग पनि छलफल गर्ने तयारी गरिएको छ । यसअघि दाहाल र भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो ।
यो पनि पढ्नुस :