नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ नेताले पार्टी परित्याग गरेका छन् । आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गर्दै ४ नेताले पार्टी परित्याग गरेका हुन् ।
उनीहरुले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी रहेका छन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला उनीहरुले पार्टी छाडेका हुन् ।
यसअघि पार्टीले चारै जनालाई स्पष्टीकरण सोधेको थियो । ‘राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ’, नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै उनीहरुले पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढङ्गले तल्लो स्तरको लाञ्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गर्ने दुष्प्रयास गरेको बताए ।
विज्ञप्ति :