नेपाल नागरिकता विधेयक २०७९ बहुमतले पारित

नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले बहु प्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको हो ।

बैठकमा विधेयकबारे दफावार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाँणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।



विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समय सीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संशोधन प्रस्ताव राखेका थिए ।

विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समय सीमा तोक्ने बारेमा विगतमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो । प्रतिनिधि सभाबाट पास भएको यो विधेयकले वैवाहिक अंगीकृत नागरिकता कसरी कुन विधिबाट दिने भन्ने व्यवस्थाप्य समेटेको छैन । यसबारेमा पछि राजनीतिक दलबीच छलफल गरेर टुङ्गोमा पुग्ने गृहमन्त्री खाँणले बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको यो विधेयकमाथि अब राष्ट्रियसभामा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी सो विधेयकको विपक्षमा रहेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित समाचार