गठबन्धनको विषयमा यसो भने पौडेलले

काँग्रेस सधैँ बीपीको पथमा हिँड्छ

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । आज (शनिबार) बीपी कोइरालाको ४० औँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिंह पार्कमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको बताए । पौडेलले बीपीको सिद्धान्त काँग्रेसले नछाडेको भन्दै काँग्रेस सधैँ बीपीको पथमा हिँडिरहेको बताए । बीपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि बीपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने उनको भनाइ थियो ।



वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताए । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भने , ‘पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले तनहुँमा काँग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि काँग्रेसको भएको बताए । ‘मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,’ पौडेलले भने ।

सम्बन्धित समाचार