नेपालको लगातार दोस्रो जित

साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बुधब्र भएको खेलमा नेपालले श्रीलंकालाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

नेपालको लागि कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले समान १-१ गोल गरे । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको एकतर्फी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा नेपालले ३ गोल गरेको थियो । खेलको ५८ औं मिनेटमा नेपालका कप्तान आयुषले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को सहज जित दिलाए ।



जितसँगै नेपालले २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो । साफ यू-२० च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले तेस्रो खेल भारतसँग आइतबार र अन्तिम खेल बंगलादेशसँग मंगलबार खेल्नेछ । प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

 

 

सम्बन्धित समाचार