नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।
नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । आज (बिहीबार) बसेको राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको हो ।
बैठकमा विधेयकबारे दफावार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिपछि राष्ट्रियसभाले बहुमतले उक्त विधेयक पारित गरेको हो । विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए ।
प्रतिनिधिसभाले ६ साउनमा यस विधेयक पारित गरेको थियो । नागरिकता विधेयकमाथिको छलफलका क्रममा संशोधनकर्ता सत्ता गठबन्धन दलका सांसदले संशोधन प्रस्ताव फिर्ता लिए भने प्रमुख प्रतिपक्षी दलका सांसद र एक स्वतन्त्र सांसदले संशोधन प्रस्ताव फिर्ता लिएनन् । नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् । त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी सो विधेयकको विपक्षमा रहेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन १३ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयक अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।