नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको भन्दै फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए । मन्त्री श्रेष्ठले स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले भने ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं । फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन ।’
स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको भन्दै मन्त्री श्रेष्ठले मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको पनि बताए । ‘हामी मठमन्दिरहरूमा सरसफाई गर्न राष्ट्रिय अभियान शुरु गर्दैछौं । त्यहाँबाट नै चेतनाको अभियान शुरु हुनेछ । यी योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय गरेर कामहरु लैजान्छौँ । नाइट टुरिजमको कुरा गरिरहँदा पर्यटकहरूलाई घुमाउने कुरा गर्दा त्यो किसिमको स्थानीय वातावरण तयार गर्नुपर्छ । सरसफाई र हाम्रा सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक छ ’मन्त्री श्रेष्ठले भने ।