नेपालको लज्जास्पद हार

भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको हो ।

भारतलाई शानदार जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले समान २-२ गो गरे भने हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलको नाममा समान १-१ गोल रह्यो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको एकतर्फी खेलमा खेलको ३२ औं मिनेटमा टाइसनले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।



पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा भारतले थप ७ गोल गरेको थियो । खेलको ५० औं मिनेटमा पार्थिवले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५२ औं मिनेटमा पार्थिवले गोल गर्दै टिमको अग्रता ३-० मा पुर्याए । यस्तै खेलको ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गर्ने क्रममा टाइसनको गोल मार्फत भारत ४-० ले अघि रह्यो ।

यस्तै खेलको ७१ औं मिनेटमा हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गर्दै भारतलाई ५-० को अग्रता दिलाए । त्यसैगरी खेलको ७८ औं मिनेटमा टन्कधरको गोल मार्फत भारत ६-० ले अघि रह्यो । त्यस्तै खेलको ९० औं मिनेटमा गुर्किरातले गोल गर्दै भारतको अग्रता ७-० मा पुर्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा सुभोले गोल गर्दै भारतलाई ८-० को शानदार जित दिलाए ।

प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको दोस्रो जित । जितसँगै भारत ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने समान खेलमा ६ अंक जोडेको नेपालको गोलअन्तरमा पछि रहँदै तेस्रो स्थानमा रहेको छ । यता बंगलादेश भने ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो ।

साफ यू-२० च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले अन्तिम खेल बंगलादेशसँग मंगलबार खेल्नेछ । प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

 

सम्बन्धित समाचार