नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुग्न असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेले पनि अर्को खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेपछि नेपाल फाइनल पुग्न असफल भएको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुबै टोलीले समान १-१ गोल गरे । खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकिएको हो । त्यसअघि दुबै टोली १० खेलाडीमा समेटिएका थिए । बंगलादेशका सहिदुल इस्लामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाए भने नेपालका दिपेश गुरुङ र बेन्चका खेलाडी रोहित सुब्बाले भने सोझै रातो कार्ड पाए ।
बंगलादेशका कप्तान तनवीरले नेपालका कृतिस रन्त छुन्जुलाई फउल गरेछि तनवीर सहायक रेफ्रीसँग विवाद गर्दै नेपालका कप्तान आयुष घलानलाई पेलेपछि दुबै टोलीका खेलाडी मैदानमा झगडामा उत्रिएका थिए । दुबै टोलीका बेन्चका खेलाडी समेत मैदान प्रवेश गरेर झगडा गरेका थिए । खेलले तनावपूर्ण स्थिति लिएपछि रेफ्रीले उनीहरुलाई रातो कार्ड देखाएका थिए ।
त्यस्तै मंगलबार भएको अर्को खेलमा साविक विजेता भारतले माल्दिभ्सलाई १-० पराजित गर्दै फाइनल प्रवेश गरेको छ । भारतको लागि खेलको ९० औं मिनेटमा गुर्किरात सिंहले निर्णायक गोल गरेका थिए । यदि यस खेलमा भारत पराजित भएको भए नेपाल फाइनल प्रवेश गर्ने थियो । अब उपाधिको लागि भारत र बंगलादेश भिड्ने छन् । पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० ले हराएको थियो भने तेस्रो खेलमा भारतसँग ८-० ले पराजित भएको थियो । बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहँदा ४ खेलमा ९ अंक जोडेको भारत दोस्रो र समान खेलमा ८ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेको थियो ।