पत्रपत्रिका
काठमाडौं, १८ साउन ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि सरकारको नेतृत्व विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच होडबाजी सुरु भएको छ ।
कांग्रेसले आगामी निर्वाचनबाट एक्लै बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबी गरिसकेको छ भने माओवादी केन्द्रको नेतृत्वले पनि निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने विषयमा इच्छा देखाउन थालिसकेको छ ।
गत १० असारमा नेपाल पर्वतारोहण संघले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘तेस्रोपटक प्रधानमन्त्री हुने’ इच्छा व्यक्त गरेका थिए । गत शनिबारसमेत पार्टीको एक कार्यक्रममा उनले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने र माओवादी केन्द्र दोस्रो भएमा एकपटक फेरि सरकारको नेतृत्व हातमा आउने तथा आफू तेस्रोपटक प्रधानमन्त्री बन्ने’ बताए ।
‘आउने चुनावमा तालमेल हुन्छ, हामी दोस्रो हुनेगरी तालमेल भएमा सत्ता हाम्रै हातमा आउँछ, यो नै मेरो लास्ट इनिङ्स हुनेछ,’ प्रचण्डले भनेका छन्, ‘यसपटक मैले पछिसम्मको सन्ततिले सम्झिनेगरी देशलाई केही चिज दिने सपना लिएको छु ।’
कांग्रेस नेता रामचन्द्र पौडेलले भने सरकारको नेतृत्व निर्वाचनको परिणामले नै तय गर्ने बताए । ‘प्रधानमन्त्रीमा सबैले चासो राख्नु स्वाभाविक हो, निर्वाचन परिणामले नै अबको प्रधानमन्त्रीको तय हुने हो,’ उनले भने, ‘आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको स्वाभाविक दाबी रहन्छ ।’ आजको राजधानी दैनिकमा खबर छ ।