नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्नेमा सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संघीय तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्ने सहमति जुटेको हो ।
बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकरी दिए । उनले बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको बताए । उनले भने, ‘मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सहमति भएको छ ।अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्छ ।’
यसअघि निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा संघीय तथा प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने तयारीमा छन् । बैठकमा संघीय तथा प्रदेशसभा निर्वाचनको विषयमा छलफल भएको थियो । बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।