नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ९२६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको पनि मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३२४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७१ हजार २५० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ रहेको छ । जसमध्ये ५ हजार ४४० जना होम आइसोलेसनमा छन् भने १६२ जना र संस्थागत आइसोलेसनमा र ४४ जना आईसीयूमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८८ हजार ८२१ र एन्टिजेन विधिबाट १ लाख ४३ हजार ७९२ जना पुगेको छ ।