नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
न्युजिल्याण्ड नेदरल्याण्ड्सविरुद्धको पहिलो टी-२० खेलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा न्युजिल्याण्डले घरेलु टोली नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको हो ।
नेदरल्याण्ड्को स्पोर्टपार्क वेस्टभिलेटमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनायो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ४५ रन बनाए भने जेम्स निसमले ३२ रन जोडे । त्यस्तै ईस सोधी १९ रन बनाई आउट भए भने ड्रयाल मिचेलले १५ रन जोडे । नेदरल्याण्ड्सको लागि लोगान भान बिक र शारिज एहमदले समान २-२ विकेट लिए ।
१४९ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्याण्ड्स १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटियो । नेदरल्याण्ड्सका लागि बास डि लिडले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान स्कट इडवार्डले २० रन बनाए भने रायन किलिनले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । न्युजिल्याण्डका लागि बाएर टिकनिरले ४ विकेट लिए भने बेन सियर्सको भागमा ३ विकेट रह्यो । यस्तै कप्तान मिचेल स्टेननर तथा ईस सोधीले समान १-१ विकेट लिए । जितसँगै न्युजिल्याण्डले दुई खेलको टी-२० सिरिजमा १-० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको दोस्रो टी-ट्वान्टी आज (शुक्रबार) हुनेछ ।