जनताका ‘आशाका किरण’ बन्लान् रवि ?

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै देशमा चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिका दलहरु निर्वाचनको लागि आ-आफ्नो तवरबाट विभिन्न कार्यक्रम गर्ने योजनाका साथ अघि बढिरहेका छन् । यस्तै एक महिनाअघि मात्र उदय भएको ‘राष्ट्रिय स्वन्तन्त्र पार्टी’ पनि चुनावी माहोलमा रहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्नु अघि नै यस पार्टी निर्वाचनलाई लक्षित गर्दै देशभर विभिन्न कार्यक्रम गर्दै आएको छ । टेलिभिजन यात्रा छाडेर राजनीतिमा उदय भएका रवि लामिछानेको क्रेज अहिले देशमा बढ्दो छ । आगामी संसदीय चुनावमा आउने घोषणा गरिसकेका रवि लामिछानेले आसन्न निर्वाचनमा जित हासिल गर्न सफल हुने अपेक्षा उनको क्रेजले देख्न सकिन्छ । गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौँबाट उनले ‘राष्ट्रिय स्वन्तन्त्र पार्टी’ नै घोषणा गरेका थिए । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुमा जनताहरुको विश्वास बढेसँगै उनी पनि राजनीतिमा होमिएका हुन् ।

पछिल्लो समय उनका फ्यानहरुले पनि उनलाई राजनीतिमा आउन आग्रह गरेका थिए । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उनी अहिले देश दौडाहामा छन् । उनको कार्यक्रममा जनसागर उर्लिएको पाइन्छ । त्यसको प्रष्ट उदाहरण भर्खरै कर्णालीमा गरेको कार्यक्रमले उजागर गरेको छ । कर्णालीमा मात्र होइन बाँकेलगायत अन्य जिल्लामा पनि उनको कार्यक्रममा युवाहरुदेखि वृद्धहरुको उपस्थिति पनि बाक्लै रहेको छ । उनको यो क्रेजले गर्दा आगामी संघीय निर्वाचनमा उनी सफल हुने अनुमान गर्न सकिन्छ ।



राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । उनले आफ्नो यात्रा राजनीति यात्राको पहिलो पाइला भएको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।

लामिछानेले पार्टीमा र्‍याल चुहाएर आफू नबस्ने भन्दै क्षमता भएकाहरू जसलाई पनि पार्टीमा स्थान दिने बताए । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।

यस्तै निर्वाचन आयोगले पार्टीको नामकाविरुद्धमा परेका २ उजुरी खारेज गर्दै रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ आयोगमा दर्ता गरेको थियो । दलमा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध उजुरी परेको थियो । त्यस्तै रविको पार्टीको चुनाव चिन्ह गोलाकारभित्र घन्टी रहेको छ ।

कर्णालीमा रविको क्रेज
कर्णाली प्रदेश कमिटीको विस्तारका लागि राष्ट्रिय स्वन्तन्त्र पार्टीका सभापति रवि लामिछानेसहित उनको टोली गत सोमबार सुर्खेत पुगेको थियो । मंगलबार सुर्खेतको सीटीहलमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हजारौंको उपस्थिती थियो । कार्यक्रममा युवाहरुदेखि वृद्धहरुको उपस्थिति पनि बाक्लै थियो , सिटीहल पुरै भरिएको थियो । रविको सभामा ठूला दलको भन्दा राम्रो उपस्थिति देखिएको थियो । निर्वाचनको तयारी स्वरूप कार्यक्रम गर्दै आएका रवि गत सोमबार कर्णाली पुगेका हुन् । त्यस्तै सुर्खेतमा मात्र होइन अन्य जिल्लामा पनि उनको कार्यक्रममा हजारौं समर्थकहरुको सहभागिता रहेको थियो ।

के भने रविले ?
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पद खोजेर आउन चाहनेलाई आफ्नो पार्टीमा प्रवेश निषेध रहेको बताएका छन् । कर्णाली प्रदेश स्तरीय भेलामा सम्बोधन गर्दै कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने बताएका हुन् । अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए ।

सभापति रविले आफ्नो पुरानै शैलीमा पद खोज्नेलाई पार्टीमा आउन नदिने, एउटै परिवारबाट दुई सदस्य नराख्ने लगायतका कुराहरु राखेका थिए । उनले भने , ‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न ।’

उनले आफूले मृत्युलाई आँखै अगाडी देखेर आएको बताए । उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दु:ख पाइने बताए । कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने लामिछानेले बताएका छन् । उनले कर्णालीबाट मुलुक परिवर्तन गर्न हिँडेकालाई प्रश्न समेत गरेका थिए । कार्यक्रममा बोल्दै कर्णालीबाट मुलुक बदल्छु भनेर सिंहदरबार पसेकाहरु भ्रष्टचारीहरु घेराबन्दीमा परेको बताए । कर्णालीलाई राजनीतिको केन्द्र र सुरुवाती विन्दु बनाएर गएकाहरुले आफ्नो बाटो भुले पनि कर्णालीका जनताले त्यो भुल्नेहरुलाई कान समातेर सहीबाटोमा ल्याउन नभुलेको रविको भनाइ छ ।

आफू काठमाडौंमा जन्मे पनि कर्णालीवासीका लागि दुर्गम कालिकोटको राष्कोटमा सुविधासहितको अस्पताल निर्माण गरेको भन्दै उनले अहिले राष्कोट अस्पतालबाट कालिकोटवासीले सेवा सुविधा लिएको जानकारी दिँदै त्यस्ता अस्पताल कर्णालीमा मात्र नभएर हरेक गाउँघरमा बनाउनुपर्ने उद्घोष गरे । यसको कार्यमा आफ्नो पार्टीको जोड रहेको रविले बताए । त्यस्तै कार्यक्रममा उनले आगामी मसिंरको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका छन् ।

रविको कार्यक्रममा हजारौंको सहभागिताले उनको पार्टीले निर्वाचनमा सफल हुने आंकलन गर्न सकिन्छ । निर्वाचनमा रवि जनताको ‘आशाका किरण’ बनेर आउने सम्भावना पनि प्रवल रहेको छ ।

 

सम्बन्धित समाचार