नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
सरकारले साउन १९ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करिब १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ताटोली गठन गर्ने, मध्य भोटेकोसी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
शहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख (करिब १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ताटोली गठन गर्ने निर्णय
निर्वाचन आयोगबाट प्राप्त परामर्श अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ बमोजिम विसं. २०७९ मंसिर ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने निर्णय
विसं. २०७९ साउन १ गतेदेखि लागू हुने गरी निक्षेप सुरक्षाको सीमा तीन लाखबाट वृद्धि गरी पाँच लाख रुपियाँ पुर्याउने निर्णय
मध्य भोटेकोसी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने निर्णय
नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यहरु मनोनयन गर्ने निर्णय
संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी भदौ १६ गते सञ्चालन हुने तेस्रो यूएनकोप्समा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भाग लिन स्वीकृति दिने निर्णय
लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल र लुम्बिनी सांस्कृतिक भवन निर्माण गर्ने प्रयोजनार्थ जग्गा लिजमा उपयोग गर्न स्वीकृति दिने निर्णय
कार्तिक ३ देखि ४ गतेसम्म विश्व कृषि स्थानमा हुने स्टेयरीङ कमिटी मिटिङ अफ दी ग्लोवल स्नोल लियोपड एण्ड इकोनोमी सिस्टम प्रोटेक्शन प्रोग्राम सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय
विसं.२०७९ असोज २७–२८ गतेसम्म इटालीको रोममा आयोजना हुने स्किल राइट्स केयर टाइम टू एक्ट लेसन्स लर्न फ्रम द इमर्जेन्सी सम्बन्धी फोर्थ ग्लोवल मेन्टल हेल्थ समिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय
नेपाल प्रशासन सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव दीपक काफ्लेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय
नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने निर्णय
निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोइरालासमेत ६ जना अधिकृतहरु सरुवा गर्ने निर्णय