नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले स्वीकृत गरेको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ ।
अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ । त्यस्तै असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।
यस्तै आयोगले असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।