नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको दोस्रो बैठकमा सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे छलफल भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे छलफल भएको हो ।
बिहीबारको बैठकमा सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी पनि भएको छ । बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । उनले भने, ‘ सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको छ । छलफल सकारात्मक भएको छ ।’
कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो । गुरुङले कार्यदलको अर्को बैठक ३० साउनमा बस्ने जानकारी दिए । यसअघि साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई चयन गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा संघीय निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने विषयमा दलहरूले आ-आफ्नो धारणा राखेका थिए । त्यस्तै बैठकमा बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको थियो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि साउन २० गते बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका छन् ।
सिट बाँडफाँड टुङ्ग्याउन सबै दलको प्रतिनिधित्व हुने गरी गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनेको थियो । ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की , नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहँदा जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।