नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशको निर्वाचनको लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा बसेको ११औँ सचिवालयको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कमिटी गठन गरेको हो । निर्वाचन परिचालन कमिटीमा केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव र विभागका सचिव रहनेछ ।
त्यस्तै बैठकले प्रतिनिधि र प्रदेशको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने एमालेले जनाएको छ । यस्तै बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ ।