नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सबै पक्ष समेटिने गरी न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने माग गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए । उनले एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिए त्यसको परिणाम गम्भीर हुने चेतावनी समेत दिए ।
केसीले गठबन्धनका दलहरूले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरित् हुने भएकोले यसबारेमा छलफल गर्न आवश्यक रहेको बताए । उनले भने, ‘एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् । यसले परिणाम गम्भीर बनाउन सक्छ । गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन । मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन ।’
गठबन्धनलाई सही बाटोमा लैजान र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने केसीले बताए ।