नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० साउन ।
विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बाँस्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो ।
यस्तै पार्टीले सञ्जिववल्लभ भट्टराईलाई संयोजक चयन गरेको छ । बैठकले आउँदो मङ्सिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ।
विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् । त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।
संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए । त्यस्तै बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट स्थापनादेखि आजसम्म पार्टी निर्माणमा भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पङ्क्तिलाई दिएको प्रेरणाप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।