सत्ता गठबन्धनको कार्यदलको बैठकले गर्यो यस्तो निर्णय

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठकले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबारको बैठकमा २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दिएको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा भने विशिष्ट रुपमा हेरिने कार्यदलका सदस्य कार्कीले जानकारी दिए ।



यसअघि साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई चयन गर्ने निर्णय गरेको थियो । कार्यदलको अर्को बैठक भदौ १ गते बुधबार बस्ने र बैठकले छिटो भन्दा छिटो सिट बाँडफाँटको प्रस्तावमा छलफल गरेर टुङ्गो लगाउने कार्कीले बताए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि साउन २० गते बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका छन् ।

सिट बाँडफाँड टुङ्ग्याउन सबै दलको प्रतिनिधित्व हुने गरी गृहकार्य गर्न ११ सदस्यीय कार्यदल बनेको थियो । ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की , नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहँदा जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।

 

सम्बन्धित समाचार