नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको छ ।राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि यस विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बसेको थियो । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुन: जस्ताको त्यस्तै संसदमा प्रस्तुत गर्ने र पारित गरेर राष्ट्रपति कहाँ पठाउने सहमति भएको एक नेताले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले संसदसमक्ष ध्यानाकर्षण गराउँदै ८ बुँदा र संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि ७ वटा गरी १५ वटा सन्देश सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । १५ दिनको समय सकिनु दुई दिनअगावै राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाइदिएकी हुन् ।