नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ८५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३८३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३२८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७६ हजार ९३७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४६२ रहेको छ । जसमध्ये ५ हजार २५९ जना होम आइसोलेसनमा छन् भने २०३ जना संस्थागत आइसोलेसनमा, ५९ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९४ हजार ३८९ र एन्टिजेन विधिबाट १ लाख ४८ हजार १४३ जना पुगेको छ ।