‘शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्’

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार प्रचण्ड निवास खुमलटारमा नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटवार्ता गरेका हुन् ।

भेटमा उनीहरुले नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको बताएका छन् । साथै भेटमा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामुहिक शुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेका थिए ।



सो अवसरमा उनीहरुले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए । विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायको संवेदनशीलता प्रति राजनीतिक तहमा गम्भीर छलफल भएको भन्दै प्रचण्डले सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुङ्गोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार