नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । शनिबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारीहरूको नाम प्रस्ताव गरेका थिए ।
पार्टीले २१ सदस्यीय पदाधिकारी टिमको टुंगो लगाएको हो । प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गर्दा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा भए । त्यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल चयन भएका छन् ।
महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच सहमति नजुटेपछि दाहालले तेस्रो विकल्पको रुपमा गुरुङलाई अघि सारेका हुन् । त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे र डिलाराम आचार्य चयन भएका छन् । यस्तै कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।