नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदौ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उनका सहयोगी मन्दिप भारतीले जानकारी दिए ।
उनको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिए । विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदीप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारकको रुपमा चिनिन्थ्ये । नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका हुन् । हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए ।
उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए।