नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन् । आइतबार बिहान एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको ट्वीटरमा उल्लेख गरेका छन् । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो ।
अध्यक्ष ओलीले ट्वीटरमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।’ उनले गिरीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।