नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई जिल्ला अदालत नवलपुर र तनहुँले पेसी तोकेको छ । आज (बुधबार) जबरजस्ती करणी मुद्दाको नवलपुरमा पेसी तोकिएको छ भने तनहुँ जिल्ला अदालतले १५ भदौका लागि पेसी तोकेको हो ।
शाह बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका छन् । उनको मुद्दामा बुधबार जिल्ला अदालत नवलपुरले पेसो तोकेको शाहको पक्षबाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए । तनहुँ अदालतले अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताए ।
नाबालिग बलात्कार आरोपमा पलविरुद्ध तनहुँ र पूर्वी नवलपरासीमा उजुरी परेको थियो । त्यस्तै अभिनेता पल शाहले जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेकोमा उनको निवेदन उच्च अदालतले अस्वीकृत गर्दै थुनामै राख्न आदेश दिएको थियो । । तर पीडित भनिएकी नाबालिग र उनका बुबाले तनहुँ जिल्ला अदालतमा बयान फेरिसकेका छन् ।