नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ भदौ ।
आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचन क्षेत्रको प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन दिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदललाई १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न निर्देशन दिएको जानकारी दिए । ‘अब कार्यदललाई आधार तयार गरेर अहिलेको परिस्थितिमा १६५ निर्वाचन क्षेत्रको अवस्था के–कस्तो छ, त्यसको बारेमा विस्तृत प्रतिवेदन बनाएर पेस गर्ने निर्देशन कार्यदललाई प्राप्त भएको छ’ मन्त्री कार्कीले भने ।
त्यस्तै मन्त्री कार्कीले कार्यदलको बैठक अपरान्ह ४ बजे बस्ने बताए । शीर्ष नेताबीचको छलफलले फेरि कार्यदलमै जिम्मेवारी दिने निर्णय भएको मन्त्री कार्कीले बताए ।