केन्याविरुद्ध नेपालको सहज जित

नेपाल केन्याविरुद्धको पहिलो टी-२० खेलमा विजयी भएको छ । बिहीबार भएको खेलमा नेपालले घरेलु टोली केन्यालाई ५ विकेटले पताजित गरेको हो ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले ३४ रन बनाए भने लुकास ओलुओच ३० रनमा अविजित रहे । त्यस्तै नेल्सन ओढीयाम्बोले १९ रन बनाई आउट भए भने सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन जोडे । नेपालको लागि सोमपाल कामीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



१३१ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए भने आरिफ शेख २४ रनमा अविजित रहे । यस्तै ज्ञानेन्द्र मल्ल २३ रन बनाई आउट भए भने आसिफ शेखले १९ रन जोड्दा रोहित कुमार पौडेलले १३ रन बनाए । केन्याका लागि लुकास ओलुओच र भिराज पटेलले समान २-२विकेट लिए ।

जितसँगै पाँच खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ । नेपालका सोमपाल प्लेयर अफ द म्याच बने । नेपालले, दोस्रो खेल आज खेल्दैछ भने, तेस्रो खेल भदौ १२ मा, चौथों भदौ १३ मा र पाँचौं तथा अन्तिम टी-२० खेल भदौ १४ मा खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।

सम्बन्धित समाचार