नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।
नेपाल केन्याविरुद्धको दोस्रो टी-२० खेलमा पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली केन्यासँग १८ रनले पराजित भएको हो ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । केन्याका लागि राकिप पटेलले ३५ रन बनाए भने नेहिमिह ओधियाम्बोले २९ रन जोडे । त्यस्तै इरफान करिम २२ रन बनाई आउट भए भने सचिन भुडियाले १४ रन जोडे । नेपालको लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिए भने करण केसीले २ विकेट लिँदा पवन सर्राफको भागमा १ विकेट रह्यो ।
१३३ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल १९ ओभरमा अलआउट हुँदै ११४ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए भने आदील अन्सारी र रोहित पौडेलले समान २०-२० रन जोडे । यस्तै पवन सर्राफले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । केन्याको लागि लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले समान २-२ विकेट लिए ।
जितसँगै केन्याले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेल भदौ १२ मा, चौथों भदौ १३ मा र पाँचौं तथा अन्तिम टी-२० खेल भदौ १४ मा खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।