नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।
केन्या टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्ध तेस्रो टी-२० अन्तराष्ट्रिय खेल खेल्दैछ । आज (आइतबार) केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।
केन्याविरुद्ध नेपालले पाँच खेलको टी-२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल आज केन्यालाई पराजित गर्दै सिरिजमा दोस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रदैछ भने घरेलु टोली केन्या पनि नेपाललाई हराउदै सिरिजमा दोस्रो जित निकाल्ने सुरमा रहेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई ५ विकेटले पराजित गरेको थियो भने शुक्रबार भएको दोस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
पाँच खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । आज तेस्रो टी-२० खेल खेल्न लागेको नेपालले चौथों भदौ १३ मा र पाँचौं तथा अन्तिम टी-२० खेल भदौ १४ मा खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय भदौ १७ मा, दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।