राष्ट्रियसभाले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक विधायन समितिमा पठायो

राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको बैठकले नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयकमाथि अब संसदीय समितिमा छलफल हुनेछ ।



यसअघि बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । यसैगरी, बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराएका थिए ।

संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् । गत भदौ २ गते बसेको प्रतिनिधिसभाको बैठकले फेरि सो विधेयक हुबहु पारित गरेको थियो । राष्ट्रियसभाको अर्काे बैठक भदौ १६ गते बस्ने गरी स्थगित भएको छ ।

सम्बन्धित समाचार