बालेन शाह ‘एक्सन’मा : काठमाडौँ महानगरका अनधिकृत सबै संरचना हटाइने

काठमाडौं महानगरपालिकाले अनाधिकृत संरचना हटाउने क्रम जारी रहेको छ । गत हप्तादेखि एक्सनमा उत्रिएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ उपत्यकामा रहेका अनधिकृत संरचना हटाउँदै आएका छन् । मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाले महानगरभित्र अवैध र अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो ।

पहिलो पटक नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर एक रोपनी आठ आना जग्गामा सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको खुलासा भएपछि काठमाडौँ महानगरपालिकाका मेयर शाहले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारवही गर्ने चेतावनी दिएका थिए । त्यसपछि काठमाडौं महानगरपालिकाका मेयर शाह नेतृत्व डोजरसहितको टोलीले अनधकिृत रुपमा नक्सा पासभन्दा बाहिर गएर बनाएका संरचना भत्काएको हो । काठमाडौं महानगरसहित उक्त कार्यमा नेपाल प्रहरी टोली पनि खटिएका छन् ।



कहाँ-कहाँ चल्यो डोजर ?
काठमाडौं महानगरपालिकाले पहिलोपटक सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्समा डोजर चलाएको थियो । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन डोजर चलाएको हो । गत बुधबार मेयर साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौँ मलमा भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा पासभन्दा बाहिर गएर बनाएका संरचना भत्काएको हो ।

यस्तै न्यूरोडको रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काएको छ । काठमाडौँ महानगरपालिकाले नक्साविपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन नेतृत्वले नयाँबानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फाबिटा कम्प्लेक्सको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको थियो । उक्त क्रममा भवनको नक्साको विषयलाई लिएर अल्फाबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्मा र बालेनबीच चर्काचर्की समेत चलेको थियो । त्यसपछि बालेनले नक्सा लिएर गएर अल्फाबिटाले भवनको पार्किङ स्थलमा सटर निकालेर बनाएको ‘ल्याब’ डोजरको सहायताले हटाएका थिए ।

त्रिपुरेश्वरस्थित राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएको भन्दै महानगरपालिकाले कुर्सी हटाएको छ । विभागले उक्त स्थान सेवाग्राही बस्न प्रयोग गरेको थियो तर महानगरले सेवाग्राही बस्न योग्य नभएको भन्दै कुर्सीलगायतका सामग्री शुक्रबार हटाएको हो ।

काठमाडौं महानगरपालिकाले अवैध रुपमा प्रयोग भैरहेका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको महानगरले शनिबार काठमाडौंको वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फको सडक किनारामा अनधिकृत र अवैध रुपमा निर्माण गरिएका घर टहरा भत्काएको छ । सडक किनारामा अवैध ढंगले निर्माण गरिएका ७ वटाभन्दा बढी टहरा भत्काइएको हो ।

किन भएको थियो बालेन र अल्फाबिटा कम्प्लेक्सका निर्देशकबीच चर्काचर्की ?
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन र अल्फाबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की परेको छ । गत बिहीबार नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको नक्साको विषयलाई लिएर अल्फाबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका थिए । बालेनले शर्मासँग घरको नक्सा मागेपछि अल्फाबिटाकाका निर्देशक शर्माले अहिले आफूसँग नक्सा नभएको भन्दै उल्टै महानगरका मेयर शाहसँग हुनुपर्ने भनेपछि बालेन झोक्किएका हुन् । शर्माले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको बताएका थिए । उनले महानगरको ३५ दिने सूचना थाहा नपाएको बताए।

‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग रु’ भन्दै बालेन झोक्किए । अल्फाबिटाले भवनको पार्किङ स्थलमा सटर निकालेर ‘ल्याब’ सञ्चालन गरेको थियो ।

अनाधिकृत संरचना हटाएको विषयमा यसो भन्छन् बालेन शाह
काठमाडौं महानगरपालिका प्रमख बालेन्द्र साहले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनाधिकृत संरचना हटाएको बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले ‘मिचाहा वर्ग’लाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रतिवद्धता जनाएका छन् ।

कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले अहिले भयावहको अवस्था सृजना भएको उनले बताए । ‘आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइँ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘अब मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाई रहन दिने छैनौं । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौं । सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन् ।’

सम्बन्धित समाचार