नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।
नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले बसेको बैठकले ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।
बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । सो कमिटीको सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । त्यस्तै बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर निर्वाचनकेन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहेका छन् ।हिजो शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदान गरेको थियो ।